घरेलु टोली वेस्ट इन्डिजविरुद्धको चौथो टी–२० आई खेलमा भारतले सानदार जित हात पारेको छ । ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको हो । योसँगै पाँच टी-२० आई खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि सिम्रन हेटमायरले सर्वाधिक ६१ रन बनाए । शाई होपले ४५ रनको योगदान दिए । भारतका लागि अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिए । कुलदीप यादवको नाममा २ विकेट रह्यो ।
जितका लागि १ सय ७९ रनको विजयी लक्ष्य भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जितमा यशस्वी जैसवाल ८४ रनमा नटआउट रहे । अर्का ओपनर शुभमन ७७ रनमा आउट भए । पहिलो विकेटका लागि गिल र जैसवालले १५ दशमलव ३ ओभरमा १ सय ६५ रनको साझेदारी गरे । यो जोडीले भारतीय टी–२० आईमा ओपनरले गरेको उच्च साझेदारी बराबरी समेत गर्‍यो ।
यस अघि सन् २०१७ मा रोहित शर्मा र केएल राहुलले श्रीलंकाविरुद्ध पहिलो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए । घरेलु टोलीका रोमारियो शेफर्डले १ विकेट लिए । दुई देशबीचको पाँचौं तथा निर्णायक खेल आज राति हुनेछ ।