अहिले देशको सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा मुसलधारे वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पछिल्लो तीन घण्टामा मकवानपुर, सिन्धुली, सुनसरी, बर्दिया लगायतका जिल्लाका केही ठाउँमा अत्याधिक ठूलो पानी परेको छ । ती क्षेत्रका नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दै बाढी सूचना केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज राति पनि देशभर बदली रहेर कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर बदली भएर धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
आउँदो तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । मौसम पूर्वानुमान् महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।