मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा आगामी फागुन २९ देखि चैत्र ८ सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि ५ लाख रुपैया प्रदान गर्ने भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको जिसस ६० औं बोर्ड बैठकले स्थानीय तह सहिद स्मृती फुटबल प्रतियोगिता सञ्चालनकालागि सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।
जिल्ला फुटबल संघ मकवानपुरले संचालन गर्दै आएको मकवानपुर गोल्ड कपलाई यो वर्ष देखि स्थानीय तह सहिद स्मृती राष्ट्रिय फुटबल प्रतियोगिताका नामले संचालन गर्ने र मकवानपुरका सबै स्थानिय तहले सहयोग गर्ने भएका छन् । यस अघि धेरै वर्ष संचालन हुन नसकेको प्रतियोगिता अघिल्लो वर्ष मकवानपुरका स्थानीय तहहरुको सहयोगमा संचालन भएको थियो । प्रतियागिताको निरन्तरताका लागि सबै स्थानिय तहहरुले सहयोग गर्ने र हरेक वर्ष प्रतियोगिता संचालन गर्ने निर्णय भए अनुसार हरेक स्थानीय तहले र जिल्ला समन्वय समितिले समेत सहयोग गर्न लागेको उहाँले बताउनुभयो । आजको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, सदस्यहरु गणेश कुमारी श्रेष्ठ, चित्र बहादुर बलामी, देवराज रिमाल, सिता अधिकारी, बुद्धी बहादुर मोक्तान, सानु कान्छी स्याङतान, सरिता विश्वकर्मालगायतको सहभागिता थियो ।