भारतको सङ्घीय राजधानी दिल्लीमा प्रहरीले न्युजक्लिकमा आबद्ध ३० जनाभन्दा धेरै पत्रकार तथा सम्बन्धित व्यक्तिको घर र कार्यालयमा छापा मारेको छ । आज मङ्गलवार बिहानै पत्रकारहरूको घर र कार्यालयमा पुगेर छापा मारेको प्रहरीले पत्रकारहरूको ल्यापटप तथा मोबाइल नियन्त्रणमा लिएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रहरीले छापा मार्नुको कारण बताएको छैन । तर केही समय अगाडि न्युजक्लिक पोर्टलले चीनबाट पैसा लिएको आरोपमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । प्रहरीले आज मारेको छापा त्यही घटनासँग सम्बन्धित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । न्युजक्लिक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारको आलोचनामा समाचारहरू प्रकाशन र प्रसारण गर्ने संस्थाका रूपमा चिनिँदै आएको छ ।
यसैबीच प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अरू व्यक्तिको घरमा छापा मार्नु चिन्ताजनक रहेको बताएको छ । समाजिक सञ्जाल ट्विटरमार्फत क्लबले घटनालाई नजिकबाट हेरिरहेको भन्दै क्लब पत्रकारहरूको साथमा रहेको जनाएको छ ।