मकवानपुर – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य डोरमणि पौडेलले देशको दिगो विकास र स्थायित्वका लागि एमालेको जित अपरिहार्य रहेको बताउनुभयो । शनिबार एमाले हेटौंडा–९ नम्बर वडाद्धारा आयोजित बृहत आमसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमाले बाहेक अरु कसैले पनि देशमा विकास गर्न नसक्ने हुँदा विकास र स्थाईत्वका लागि एमालेको जित हुनु पर्ने बताउनुभयो ।

पौडेलले एमालेले गरेका विकासका कामका कारण नै जनताले एमालेलाई साथ दिएको भन्दै बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि त्यो साथ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्षौ देखि हुन नसकेका विकासका काम एमाले सरकारले ३ वर्षमा गरेको दावि गर्नुहुँदै पुन जनताले एमाले रोज्ने उहाँले दाबि गर्नुभयो । एमालेको राष्ट्रियताको भावना र कार्यशैलीले नागरिकको मन जितेको बताउँदै त्यही कारण जनताले एमालेलाई जिताउने बताउनुभयो । एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको भन्दै नाममात्रको त्यस्तो गठबन्धनसंग एमालेको कुनै प्रकारको प्रतिष्पर्धा नै नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालले आफ्नै चुनाव चिन्ह समेत प्रयोग गर्न नसक्ने पार्टीलाई जनताले कसरी विश्वास गर्ने भन्ने प्रश्न गर्नुभयो । उहाँले अहिलेको गठबन्धन गन्तव्यहीन र दृष्टिकोणविहीन रहेको भन्दै अहिलेको गठबन्धन भागबन्डाका लागि बनेको बताउनुभयो । उहाँले ९ नम्बर वडामा एमालेको जित सुनिश्चित रहेको भन्दै यसलाई कुनै तागतले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयर पदका उम्मेदवार अन्नत पौडेलले एमाले नेतृत्वले नै हेटौंडाको विकास गर्न सक्ने भएकाले एमालेलाई जिताउनुपर्ने बताउनुभयो । यसैगरी उपमेयरका उम्मेदवार काफ्लेले हेटौंडाका हरेक क्षेत्रको विकास गर्ने प्रतिबद्धा जनाउनुभयो ।