हेटौंडा । हेटौंडा–१ स्थित सञ्चो हस्पिटल प्रालिका चिकित्सकहरूलाई एक समूहले निर्घात कुटपिट गरेको छ । केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन् ।
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै चिकित्सकमाथि कुटपिट भएको हो । सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौंडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा। प्रशान्त बिडारी र सञ्चो अस्पतालमा कार्यरत डा। विकास थापामाथि केही युवाहरुले हातपात गरेका हुन् । गत साउन २५ मा डेंगुबाट मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट डा। विडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा। थापाको गाला र अनुहार सुनिएको छ । एक महिनाअघि डेंगीका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ । प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो । त्यसअघि प्रधानलाई उपचारका लागि सन्चो अस्पतालमा भर्ना गरिएको थियो ।
सञ्चोमा उपचार हुन नसक्ने भन्दै प्रधानलाई चितवन रिफर गरिएको थियो । प्रधानलाई दोस्रोपटक डेंगु संक्रमण पुष्टि भएको थियो भने उनलाई मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो । घटनापश्चात प्रहरीले दुवैपक्षलाई राखी छलफल गराएको थियो । तर, छलफलमा सहमति जुटन नसकेपछि दुवै पक्ष कानुनी प्रक्रिया जाने भएका छन् ।
नेपाल चिकित्सक संघले सञ्‍चो अस्पताल हेटौंडामा विरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर दुई चिकित्सकलाई घाइते बनाइएको घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । संघले यस घटनामा संलग्न दोषीलाई अविलम्ब ुस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ु बमोजिम कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको विरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरुलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघको गम्भीर आपत्ति रहेको पनि विज्ञप्तिमा भनिएको छ । महासचिव डा। सन्जिव तिवारीले जारी गरेकझ विज्ञप्तिमा ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिएमा नेपाल चिकित्सक संघ चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ ।
यस्तै, नेपाल स्वास्थ्यकर्मी संघले यो घटनाको निन्दा गर्दै विज्ञप्ती जारी गरेको छ । संघका जिल्ला उपाध्यक्ष सुधीर दाहालले जारी गरेको विज्ञप्तीमा चिकित्सक माथि उत्छृङ्खल जमातले गरेको सांघातिक आक्रमणको संघ घोर भत्सर्ना गर्दछ । यस किसिमको गतिविधिले स्वास्थ्य क्षेत्रमा गंभीर असर पुर्‍याउने भएकोले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै दोषीमामाथि हदैसम्मको कारबाही गर्न विज्ञप्तीमा माग गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघ मकवानपुरले पनि यो घटनाको घोर आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेको छ । संघका उपाध्यक्ष संघर्ष गुरुङले जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीको सुरक्षाको ग्यारेन्टी नभएको खण्डमा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि भएको सांघातिक आक्रमणले मकवानपुरको स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कान्तिपुरबाट ।