हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।
कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।
आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक-एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।