फाइल फाेटाे

आज देशका चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ । यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेकाले आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान् छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । भारी वर्षावाहेक आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि छ । राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।