मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा थारु समुदायको मुख्य पर्व माघी आज विभिन्न कार्यक्रम गरेर मनाईएको छ । माघीका अवसरमा थारु समुदायले हेटौंडाको भूटनदेखि चौरमा दोस्रो थारु महोत्सब आयोजना गरेका हुन् ।

थारु कल्याणकारी सभाका अध्यक्ष हरिलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सबको उद्घाटन गर्दै मेयर महतले मकवानपुरमा थोरै संख्यामा रहेको थारु जातिले महोत्सब गरेर आफ्नो संस्कृतिक पहिचान दर्शाएकोमा खुशि लागेको बताउनुभयो । आफ्नो संस्कृति र संस्कारलाई कसैले पनि बिर्सन नहुने भन्दै मेयर महतले सबैको पर्वको सम्मान गर्नुपर्ने बताउनुभयो ।

महोत्सबमा थारु समुदायको विभिन्न खानेकुराका परिकारको स्वाद चाख्न पाउनुका साथै सांगितीक नृत्य, नाटक लगायत प्रस्तुत गरिएको थियो । महोत्सवमा थारु जातिसँगै, थारु विद्यार्थी संघ, थारु महिला आयोग लागयत विदेशी नागरिकले समेत आफ्नो कला प्रस्तुत गरेका थिए । मकवानपुरमा थोरै मात्रामा थारु समुदायको बसोबास भए पनि आफ्नो संस्कृति र संस्कारको जर्गेनाका लागि महोत्सवको आयोजना गर्ने गरेको थारु कल्याणकारी सभाका अध्यक्ष चौधरीले बताउनुभयो ।