मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । उद्योगले उत्पादन गर्दै आएको शक्ति ब्रान्डको सिमेन्टमा प्रति बोरा ५१ रुपैयाँ ९८ पैसा घटाएको हो ।

उद्योगले निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि सिमेन्टको मूल्य घटाएको हो । उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको कारखानाद्वारा ६ सय ४९ रुपियाँ ७५ पैसा बनाएको छ । घटाएको मूल्य आइतबारबाट लागू भएको उद्योगका बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख शम्भु पाण्डेले जानकारी दिनुभयो । उक्त मूल्यमा उद्योगले ५ सय ६४ रुपियाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ । 

यसअघि हेटौँडा सिमेन्ट उद्योगको सिमेन्टको कारखानाद्वारा मूल्य ७ सय १ रुपियाँ ७३ पैसा थियो । उद्योगको सिमेन्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ । २०३३ असोज १३ मा स्थापना भएको उद्योग निर्माणपछि आर्थिक वर्ष २०४२/०४३ बाट उत्पादन सुरु गरेको थियो ।

यसैबीच करिब १ बर्षदेखी कोइला अभाव देखाउँदै बन्द रहेको उद्योग अझै सञ्चालन हुन सकेको छैन । भदौ १० गते आइतबारबाट सञ्चालन गर्ने तयारी भएपनि कर्मचारीको रोकिएको अतिरिक्त सुविधासहितको पारिश्रमिक र जीवन बिमालगायतको सुविधा उपलब्ध नगरे उद्योगमा काम नगर्ने अडानका कारण उद्योग सञ्चालन हुन नसकेको हो ।

कर्मचारीले पाउने सेवा सुविधा आगामी असोज मसान्तसम्म उपलब्ध गराउने गरी उद्योग व्यवस्थापन र आन्दोलनरत कर्मचारी बीच भद्र सहमति भएपनि कर्मचारी काममा नआउँदा उद्योग सञ्चालन हुन नसकेको हो ।