मकवानपुर । बागमती प्रदेश सभाको बैठक भदौ १८ गतेका लागि आव्हान गरिएको छ । बागमती प्रदेश सभाको दोस्रो अधिवेशनको २९औँ बैठक भदौ १८ गते दिउँसो १ः३० बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
गत असार २१ गते आर्थिक वर्ष ०८०÷८१ को बजेट पास गरेलगत्तै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक करीब दुई महिनापछि बस्न लागेको हो । बैठकको सम्भावित कार्यसूची तयार गर्न प्रदेश सभा सचिवालयमा सोही दिन बिहान ११ः३० बजे कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर दिउसो बैठक बस्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
यसैबीच प्रदेश सभा सचिवालयमा मंगलबार सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको समेत जनाईएको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान प्रवृधी, नवप्रवर्धन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० दर्ता गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।