आजदेखि मौसम क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसोपछि देशका पश्चिमी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ ।
आज कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।