हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरमा राप्रपाले शक्ति प्रदर्शन गरेको छ । हेटौंडा राप्रपाका पक्षमा नारा, जुलुससहित हेटौंडाको मुख्य क्षेत्र हुप्राचौरमा सभा गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो ।

हुप्राचौरमा आयोजित सभालाई संबोधन गर्दै राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेकोभन्दै चिन्ता व्यक्त गर्नु भएको छ । राप्रपा मकवानपुरले आइतबार हेटौंडामा गरेको आमसभामा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले जनताले नेपाली कांग्रेस, एमाले र माओवादीलाई देश विकासको जिम्मेवारी दिएपनि उनीहरु गैरजिम्मेवार भएको बताउनुभयो । उहाँले उनीहरुकै कारण देशको अर्थतन्त्र धरासायी भएको बताउनुभयो । प्रमुख राजनैतिक दलहरुको मार्गचित्र नै गलत भएकाले देश विकास नभएको बताउँदै राप्रपा बैकल्पिक र नविन शक्तिको रुपमा अघि बढेको उहाँको भनाई थियो ।

संघीयता खारेज नगरे मुलुक जुनसुकै बेला श्रीलंकाको जस्तो आर्थिक संकटमा पर्ने बताउनुभएको छ । हेटौंडामा आज भएको आम सभालाई सम्बोधन गर्नुहुँदै लिङ्देनले संघीयताको नाममा यत्ति धेरै जनप्रतिनिधि, तिनका कर्मचारी, सेवा, सुविधामा हुने खर्च र विकासमा देखिएको निराशाजनक अवस्थाले मुलुक आर्थिक रूपमा संकटमा रहेकोले श्रीलंका बन्ने जोखिम रहेको उहाँको भनाइ थियो । मुलुक यत्तिको जोखिममा हुँदा पनि जिम्मेवार भएर काम नगर्ने प्रमुख राजनीतिक दलबाट संघीयता बिरुद्ध जनता नै आन्दोलित हुने दाबी लिङदेनको छ । मुलुकको सुधारका लागि जनताले मतदानका बेला ध्यान दिनु पर्ने उल्लेख गर्नुहुँदै स्थानीय तहको निर्वाचनमा विकासका दृष्टिले कमजोर पालिकामा जिताएर काम गर्ने अवसर दिन आग्रह गर्नुभयो । पालिकामा राप्रपाका उम्मेदवारले जिते तालिम केन्द्रको स्थापना गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, गुणस्तरीय र निशुल्क शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने उहाँको दाबी छ ।