विश्वका विभिन्न प्रविधि कम्पनीहरुमा कार्यरत २ लाख २६ हजार मानिसहरुले चालु वर्ष सन् २०२३ मा जागिर गुमाएका छन् ।हालै प्रकाशित रिपोर्ट अनुसार सन् २०२२ मा वर्षभर जागिर गुमाएका प्रविधि उद्योगका जनशक्तिको तुलनामा यो ४० प्रतिशतले धेरै हो ।
व्यापक कर्मचारी कटौतीका कारण प्रविधि उद्योगका लाखौं कार्यस्थलहरु बन्द भैसकेका छन् । जसका कारण यो वर्ष सन् २०२३ प्रविधि उद्योगका लागि अहिलेसम्मकै सबैभन्दा खराब वर्षको मा रहेको AltIndex.com को रिपोर्टमा उल्लेख छ ।
सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा प्रविधि उद्योगहरुले एक लाख ६४ हजार ७४४ जना कर्मचारीहरुलाई जागिरबाट हटाएका थिए ।
सन् २०२१ को तुलनामा त्यो ११ गुणा धेरै थियो । Layoffs.fyi तथ्यांक अनुसार सन् २०२१ मा विश्व प्रविधि उद्योगमा कार्यरत करिब १५ हजार जनशक्तिले मात्रै जागिर गुमाएका थिए ।
तर यो वर्ष सन् २०२३ सर्वाधिक खराब देखिएको छ । गत जनवरीमा मात्रै प्रविधि उद्योगका ७५ हजार ९१२ जना जनशक्तिले आफ्नो जागिरबाट हात धुनुपरेको छ । जुन सन् २०२२ को कूल कर्मचारी कटौतीको झण्डै आधा हो ।
त्यस्तै फेब्रुअरीमा ४० हजार जना कर्मचारीहरु कटौतीमा परे भने त्यसपछिको तीन महिनामा कुल ७३ हजारले जागिर गुमाए । त्यसयता प्रविधि उद्योगमा कार्यरत थप २४ हजार जनशक्ति जागिरबाट निकालिएका छन् र यो वर्ष विश्व प्रविधि उद्योगमा कुल कर्मचारी कटौतीकेा संख्या २ लाख २६हजार ११७ पुगेको रिपोर्टमा उल्लेख छ ।
अनिश्चित विश्व अर्थतन्त्र, मुद्रास्फीति, आपूर्ति श्रृंखलामा व्याप्त समस्या तथा घट्दो आम्दानीका कारण प्रविधि कम्पनीहरुले कर्मचारी कटौतीलाई बढावा दिइरहेका छन् । यो मामिलामा गुगल, मेटा, माइक्रोसफ्ट तथा अमेजन जस्ता कम्पनीहरुले नै अग्रभागमा रहेका छन् ।
यद्यपि कर्मचारी कटौतीले अन्य ससाना प्रविधि कम्पनीहरुलाई पनि छाडेको छैन । रिपोर्टमा भनिएको छः खुद्रा र क्रिप्टोदेखि परिबहन बजारसम्मका अन्य सयौँ ससाना प्रविधि कम्पनीहरु समेत पीडादायी खर्च कटौतीका उपायहरु अपनाउन बाध्य छन् । जसका कारण प्रविधि उद्योगमा अहिलेसम्मकै उच्च कर्मचारी कटौती भएको छ ।
एक तथ्यांक अनुसार सन् २०२१ को सुरुआतदेखि अहिलेसम्म प्रविधि उद्योगहरुले ४ लाख ५ हजार भन्दा धेरै कर्मचारी कटौती गरिसकेका छन् ।
यस्तो कर्मचारी कटौतीको संख्यामा अमेरिकी प्रविधि कम्पनीहरुको हिस्सा सबैभन्दा ठूलो छ । यो वर्ष कटौतीमा परेका प्रविधि उद्योगका जनशक्तिमध्ये ८० प्रतिशत अमेरिकी प्रविधि कम्पनीमा कार्यरत जनशक्ति हुन् ।
एजेन्सी