मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले सदस्यता नविकरण गर्न आव्हान गरेको छ । फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा मंगलबार बसेको बैठकले फाउण्डेसनको विधान अनुसार सदस्यता प्राप्त गर्नु भएका सम्पूर्ण सदस्यहरुलाई आगामी असोज मसान्तसम्मा सदस्यता नविकरण गर्न आव्हान गर्ने निर्णय गरेको हो ।
बैठकले सम्पूर्ण साधारण सदस्यहरुलाई सदस्यता नविकरण गर्न आव्हान गर्नुका साथै आजिवन सदस्यता लिन आग्रह गर्ने साथै नयाँ सदस्यताका लागि समेत आव्हान गर्ने निर्णय गरेको फाउण्डेसनका अध्यक्ष खुलालले बताउनुभयो । यस्तै बैठकमा यस अघि संचालित कार्यक्रमहरुको समिक्षा गर्नुका साथै आगामी कार्यक्रमको विषयमा विभिन्न निर्णय गरेको छ । बैठकले यसअघि विभिन्न कार्यक्रम संचालन गर्दा भएका खर्चहरु अनुमोदन गर्ने साथै हेटौंडा–४, मा फाउण्डेसनको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।
त्यस्तै बैठकले फाउण्डेसनले ७२औं मदन जयन्तीका अवसरमा आयोजना गरेका कार्यक्रमहरु प्रभावकारी भएको भन्दै कार्यक्रम संचालनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने साथै भाद्र मसान्त भित्र आजको सन्दर्भमा मदन भण्डारीको बिचार शिर्षकमा खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । प्रतियोगिता संचालनका लागि फाउण्डेसनका उपाध्यक्ष आशाकाजी श्रेष्ठको संयोजकत्वमा कमल कुमार बिश्वकर्मा र गोकर्ण तिवारी सदस्य रहने गरि व्यवस्थापन समिति समेत गठन गरेको उहाँले बताउनुभयो । बैठकमा फाउण्डेसनका सहसचिव शिवहरी दाहाल, कोषध्यक्ष चन्द्रावती पनेरु, सदस्यहरु लक्ष्मण प्रसाद भण्डारी, उत्तम प्रसाद न्यौपाने, राधिका चौलागाई, धर्म बस्नेतलगायतको सहभागिता थियो ।