मकवानपुर । हेटौंडा अस्पतालामा मातृशिशु कक्ष सञ्चालन गर्ने तयारी गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा अस्पतालमा मातृशिशु सेवा सञ्चालन गर्ने उदेश्यका साथ भवन निर्माण प्रकृया अगाडी बढाईएको छ । मातृशिशु कक्ष भवन निर्माण गर्न उपमहानगरपालिका र अस्पताल विकास समितिबीच मंगलबार सम्झौता भएको हो ।
चालु आर्थिक बर्षबाटै सेवा प्रदान गर्ने गरि उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्ने औपचारीक सम्झौता गरेको हो । मातृशिशु कक्ष निर्माणका लागि उपमहानगरपालिकाले अस्पताल बिकास समितिलाई ८० लाख रुपियाँ उपलब्ध गराउने गरि आज सम्झौता भएको हो । आगामी चैत्र महिना सम्ममा भवन निर्माण सम्पन्न गर्ने गरि अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाई र उपमहानगरपालिकाका पुर्वाधार बिकास महाशाखा प्रमुख सत्यनारायण शाहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले मातृशिशु सेवा सञ्चालन गर्ने उदेश्यका साथ भवन निर्माण प्रकृया अगाडी बढाईएको बताउनुभयो । नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यका साथ काम अगाडी बढाईएको उहाँले बताउनुभयो । व्यवस्थित अस्पताल सञ्चालन गरेर उपचारका लागि बाहिर जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष प्रसाईले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान मार्फत हेटौंडा अस्पताल सञ्चालन भएपश्चात स्वास्थ सेवा प्रवाहमा सुधार हुँदै गएको र सेवा लिनेहरुको संख्या अघिल्लो बर्षहरुको तुलनामा दोब्बर भन्दा बढिले बृद्धि भएको बताउनुभयो । कार्यक्रममा उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौंलागाई, उपमहानगरका बिभिन्न वडाहरुका अध्यक्षहरु, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरीबहादुर खड्का, बिकास समितिका सदस्य उत्सब चौलागाईलगायतको उपस्थिती थियो । उक्त भवानमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शिक्षण एवम् अभ्यास कक्षको रुपमा समेत प्रयोग हुने सम्झौतामा उल्लेख गरीएको छ ।