file photo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।
यस अघि बैठकमा बोल्ने सांसदहरूले पशु चौपायामा देखिएको लम्पि स्किन महामारी नियन्त्रण गर्न र पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले देशका विभिन्न भागमा फैलिएको आँखा पाक्ने रोग तथा बढ्दो महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, समयमै वर्षा नहुँदा खेती लगाउन नपाएका तथा अतिवृष्टि,बाढी–पहिरो र डुबानबाट पीडित किसानलाई राहत दिने कार्यक्रम ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सरकारले समयमै स्वास्थ्य बीमाको रकम शोध भर्ना नदिएका कारण विभिन्न अस्पतालहरूले बीमाको सुविधा दिन अस्वीकार गरेको तथा निर्माण व्यवसायीहरूले भुक्तानी नपाएर विकास निर्माणका काममा ढिलासुस्ती भएको तर्फ पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १० गते आइतबार दिउँसो १ बजे बस्ने छ ।