हेटौंडा । नजिकिएको दसैँ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले मकवानपुरबाट ५ सय खसी बोका खरिद गर्दैछ । कार्यालयका सूचना अधिकृत समिर दाहालका अनुसार, शुक्रबारदेखि मकवानपुरको बागमती गाउँपालिकासँगको सहकार्यमा खसी बोका खरिद कार्य सुरु गरिँदै छ । यसवर्ष बागमती गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच लिखित सम्झौतानै गरेर सोही पालिकाबाट मात्र खसी बोका खरिद गर्न लागिएको हो ।
खसी बोका खरिदस्थलसम्म ल्याउने र खरिद भएपछि कम्पनीको प्रादेशिक कार्यालय थापाथलीसम्म ढुवानी गरी लग्ने जिम्मेवारी पनि बागमती गाउँपालिकाको कार्यालयले बहन गर्ने छ । असोज २१ सम्म खरिद कार्य जारी राखिने र त्यस अघिनै लक्षित संख्यामा खसी बोका खरिद भए खरिद बन्द गरिने दाहालले बताए । अघिल्ला वर्षहरुमा खाद्यले मकवानपुरका बकैया गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिका–१३ पशुपतिनगरबाट समेत खसी बोका खरिद गर्दै आएकोमा यस वर्ष एउटै पालिकाबाट खरिद गर्न लागेको हो ।
पर्सा / बारामा पर्याप्त खसी बोका नपाइने भएकाले शाखाले बर्सेनी मकवानपुरबाट खसी बोका खरिद गर्दै आएको छ । शाखाले यस वर्ष २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ८५ रुपैयाँमा र २५ किलो भन्दा माथिको खसी प्रतिकिलो ६ सय ५ रुपैयाँमा खरिद गर्ने भएको छ । त्यसैगरी, १८ देखि ३० किलोको बोका प्रति किलो ५ सय ७० रुपैयाँमा खरिद गर्ने छ । मकवानपुरको खसी बोकाको मासुको स्वाद स्वादिलो हुने भएकाले यहाँको खसी बोकाको माग बर्सेनि हुने गरेको दाहालले बताए । कम्पनीले बर्सेनि मकवानफुर दाङ धादिङबाट खसी बोका खरिद गर्दै आएको छ । इकान्तिपुरबाट