रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना–२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मानवरहित यान भोलि साेमवार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने क्रममा थियो । तर अवतरण गर्नुअघिको कक्षमा समस्या देखिएलगत्तै लुना–२५ सँग सम्पर्क टुटेको रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।
अहिलेसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत र रुसबीच प्रतिस्पर्धा चलेको थियो । भारतको चन्द्रयान–३ आउँदो बुधवार अवतरण गर्ने प्रयासमा छ ।
चन्द्रमाको सतहमा भने अमेरिका र चीनका यानले यसअघि नै अवतरण गरिसकेका छन् । लुना–२५ अन्तरिक्षयान रुसले झन्डै ५० वर्षमा प्रक्षेपण गरेको चन्द्रयान हो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।