नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन् ।बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने भएका हुन् ।
आन्तरिक तयारी पूरा भएको खण्डमा राष्ट्रिय टिम बुधबार पाकिस्तान प्रस्थान गर्ने तयारी गरिरहेको छ । उनको गत बिहीबार पछिल्लो पटक पेशी रहेको थियो। तर उक्त पेशीमा पनि अन्तिम सुनुवाइ हुन नसकेपछि उनी टिमसँगै पाकिस्तान जाने सम्भावना नभएको हो ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले टिमसँग सन्दीप पाकिस्तान नजाने बताए । उनले सन्दीपको मुद्दाको अर्को पेशीको अहिले नै तय नभएको बताए । अदालतको आदेशअनुसार आमाको जन्ममिति प्रमाणीकरणपछि अर्को पेशी तय हुने घिमिरेले जानकारी दिए । उनका अनुसार एसिया कप खेल्नका लागि जाने/नजाने अहिले नै तय भएको छैन ।