हेटौँडा । बागमती प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति भए पनि अझै कार्यान्वयन भएको छैन । मन्त्रालय फुटाएरै/बढाएरै भए पनि बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिनेबारे सत्ता गठबन्धनका दलहरूबिच सहमति भएको १० दिन बितिसके पनि उहाँले अझै जिम्मेवारी पाउनुभएको छैन ।
बागमती प्रदेशमा ११ वटा मन्त्रालय रहेकामा मन्त्रालय फुटाएर १२ बनाउने गरी साउन २१ गते सत्ता गठबन्धनका दलबिच काठमाडौँमा राजनीतिक सहमति भएको थियो । राजनीतिक सहमतिपछि झन्डै तीन महिनादेखि मन्त्रालयविहीन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका बिनाविभागीय मन्त्री चित्रकारलाई गत साता नै मन्त्रालयको जिम्मेवारी दिने सहमति जनाइएको थियो ।
सहमतिपछि मन्त्रालय पाउने विश्वासका साथ प्रदेश राजधानी हेटौँडा आएका मन्त्री चित्रकार बुधबार जिल्ला फर्कनुभएको छ । सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वासमा तीन÷चार दिन हेटौँडा बसेको बताउँदै मन्त्री चित्रकारले मुख्यमन्त्रीलाई समेत नभेटी बुधबार ललितपुर फर्किएको हो ।