हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा र सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाले सार्वजनिक संघ संस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको हो ।
बुधबार बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । साथै बैठकले १८ वर्षमुनिका बालबालिकाहरुलाई मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री नगर्न स्थानीय व्यवसायीलाई सचेत समेत गराएको छ ।
यस्तै बैठकले गाउँपालिका क्षेत्रभित्रको सार्वजनिक कार्यक्रममा बाहिरबाट ल्याइएको खादा र ब्याच वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । स्थानीय सामाग्रीबाट उत्पादन भएका मौलिक खादा र मालाको मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट ल्याइको खादाको प्रयोगमा रोक लगाइएको अध्यक्ष मल्लले बताउनुभयो ।
त्यस्तै बैठकले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउन वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्ने, ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलालले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकाले पत्रु खानेकुरालाईसमेत निरुत्साहित गर्ने भएको छ । चिसो पेय पदार्थ, चाउचाउलगायतका तयारी पत्रु खानाले स्वास्थ्यमा र आर्थिक रुपमा नोक्सान भएको भन्दै त्यस्तो खानेकुरा प्रयोगमा निरुत्साहित गर्दै जाने नीति लिएको हो । बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको उहाँले बताउनुभयो ।