मकवानपुर – जिल्ला प्रशासन कार्यालय (जिप्रका) मकवानपुरले कोरोनाको संक्रमणको संख्या बृद्धि हुँदै गएको भन्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आह्वान गरेको छ । प्रशासनले सोमबार अपिल जारी गर्दै जिल्लामा कोभिड १९ संक्रमणको दर पुनः बढ्दो क्रममा रहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सोमबार बसेको बैठकको सिफारिसमा जिल्लाभित्र कोभिड १९ संक्रमणको जोखिम नियन्त्रण एवम् न्यूनीकरण गर्न र जनजीवन सामान्य तुल्याई राख्न बढी भिडभाड हुने गतिविधिहरू नगर्न, नगराउन, भौतिक दूरी कायम एवम् मास्कको अनिवार्य प्रयोग गर्न, गराउन र सबै क्षेत्रहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्णरूपमा पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सोमबार बसेको बैठकले जिल्लामा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आव्हान गर्ने, सबै स्थानीय तहहरूले प्रभावकारीरूपमा खोप अभियान सञ्चालन गर्ने र पूर्ण खोपको सुनिश्चितता गर्ने, कोरोना परीक्षणको दायरा बढाउने, स्वास्थ्य पूर्वाधार एवम् जनशक्ति र अक्सिजनको व्यवस्थापन गरी पूर्व तयारी अवस्थामा रहने, सरकारी कार्यालय एवम् सार्वजनिक संस्थानहरूले सेवाग्राहीहरूले कोभिड विरूद्धको खोप लगाए, नलगाएको यकीन गर्ने र खोप नलगाएको पाइएमा खोप लगाउन अनुरोध गर्नेलगायतका निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो ।
यसैबीच मकवानपुरमा सोमबार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४२ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १३ जनामा र ४३ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ६ सय ४४ जना पुगेको छ । यस्तै जिल्लामा कोरोना जित्नेको कुल संख्या १५ हजार ३ सय ३२ पुगेको छ । जिल्लामा हाल ७९ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये चार जना संस्थागत आइसोलेसनमा र ७५ जना होमआइसोलेसनमा उपचाररत छन् । पछिल्लो समय मकवानपुरमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यस अघि हिजो जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको थियो ।
