नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गर्नु भएकाे छ । आज (शनिबार) वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सार्कको अस्तित्व नै नभएजस्तो अवस्थामा पुगेकाे गुनासो गर्नुभएकाे हाे ।
‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन। तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’ उहाँले भन्नुभयाे । अध्यक्ष ओलीले सार्कमा अहिले दुईवटा कुरा मात्रै रहेको बताउनुभयाे । उहाँले एउटा काठमाडौंमा सेक्रेटरी हेड र अर्को व्यूरोक्रयाटिक मिटिङहरू मात्रै भएको बताउनुभयाे । ‘यसले सार्कले दिनुपर्ने कुरा दिन सकेको छैन। यसमा कुनै व्यक्तिगत इगो, कोही देशका इगो होलान् । यस्ता कुराहरूले गर्दा एउटा क्षेत्रीय सङ्गठन अशक्त अथवा निरीह भएर बस्ने स्थितिमा छ,’ उहाँले भन्नुभयाे ।











