सरकारले भारतबाट १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रूपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले आयात गर्ने निर्णय गरेकाे विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ । शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले भारतबाट सो परिमाणको खाद्यान्न ल्याउन लागेको जानकारी दिनुभयाे । ‘सचिव ज्यूसँगको छलफलमा उहाँले भारतबाट धान, चामल, चिनी ल्याउने निर्णय भएको जानकारी दिनुभएको छ, ठाकुरले भन्नुभयाे, ‘के कसरी ल्याउने भन्ने निर्णय मन्त्रालयले गर्नेछ।’ बजारको आपूर्ति व्यवस्थालाई सहज बनाइ महँगी नियन्त्रणका लागि आपूर्तिको निर्णय भएको बताइएको छ ।