भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली वेस्ट इन्डिज विजयी भएको छ । शनिबार राति ब्रिजटाउनमा भएको खेलमा वेस्ट इन्डिजले भारतलाई ६ विकेटले पराजित गरेको हो ।
यससँगै ३ खेलको सिरिज १-१ को अवस्थामा पुगेको छ । पहिलो खेल भने भारतले ५ विकेटले जितेको थियो । सिरिजको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ ।
शनिबार राति भएको खेलमा १ सय ८२ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले ३६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजलाई जित दिलाउन कप्तान शाई होपले अविजित ६३ रन तथा केस्सी क्याटीले अविजित ४८ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४० ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ८१ रन जोड्यो । भारतका लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए । वेस्ट इन्डिजका लागि गुडाकेसा मोटी र रोमारियो शेफर्डले समान ३-३ विकेट हात पारे ।