मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९÷०८० मा १५ हजार ३२ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले एक वर्षमा ७ हजार ६४ पुरुष र ७ हजार ९६८ महिला गरी कुल १५ हजार ३२ जनालाई नयाँ नागरिकता प्रदान गरेको हो ।
कार्यालयका अनुसार सोहि अवधिमा १२ हजार ७३० थान नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ भन्दा आर्थिक वर्ष २०७९÷८० मा नयाँ नागरिकता लिनेको संख्या घटेको छ, भने प्रतिलिपि नागरिकता लिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १८ हजार ५४१ जनाले नयाँ नागरिकता र १० हजार २ सय १६ जनाले नागरिकताको प्रतिलिपि लिएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तान ६६ पूरुष र ४६ महिला गरि ११२ जनालाई वंशजको आधारमा र वैवाहिक अंगिकृत नागरिकता २२ जनालाई प्रदान गरिएको साहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा एक लाख १७ हजार ४७१ र आर्थिक वर्ष २०७९÷८० मा २९ हजार ३०८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको मध्ये केन्द्रबाट ३८ हजार ५४१ जनाको परिचयपत्र आएको तथा कार्यालयबाट हालसम्म १८ वटा राष्ट्रिय परिचयपत्र वितरण भएको तथा गत आर्थिक वर्षमा कार्यालयबाट ३०९ वटा नाबालक परिचयपत्रसमेत जारी भएको शर्माले बताउनुभयो ।
एक वर्षमा २१ हजारबढी राहदानी वितरण
यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयबाट २१ हजारभन्दा बढी राहदानी वितरण भएको छ । जिल्लाबाट कुल २३ हजार ३८३ वटा राहदानीको लागि सिफारिस भएका मध्ये २१ हजार ६ सय वटा राहदानी वितरण भएको शर्माले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६ हजार ९४७ वटा राहदानी सिफारिस भएको थियो भने ६ हजार ५३२ वटा राहदानी वितरण भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा राहदानी लिनेको संख्या १५ हजार ६८ जना बढी रहेको उहाँले बताउनुभयो ।
करीब १३ करोड राजश्व संकलन
जिल्ला प्रशासन कार्याल मकवानपुरले गएको आर्थिक वर्ष २०७९÷८० मा करीब १३ करोड राजस्व संकलन भएको जनाएको छ । कार्यालयले राहदानी शुल्क, हातहतियार नविकरण÷नामसारी, दण्ड जरिवाना, संस्था दर्ता तथा नवीकरण, सरकारी सम्पत्ति बिक्री र धरौटी लगायतको कार्यबाट १३ करोड ९५ लाख ७४ हजार ९५ रुपैयाँ राजश्व संकलन भएको शर्माले बताउनुभयो ।
दश करोड बढी राहत वितरण
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९÷८० मा १० करोड भन्दा बढी राहत वितरण गरेको छ । विभिन्न समयमा विभिन्न राहतबापत कार्यालयले रु १० करोड ७५ लाख ४१ ह्जार ३७६ रुपैयाँ राहत वितरण गरेको हो ।
कार्यालयले वैदेशिक रोजगार क्षतिपूर्तिबापत रु ७६ लाख ४५ हजार ८७६, दैवीप्रकोप (आगलागी, चट्याङ, वर्षा) राहत रु २८ लाख ५० हजार, सवारी दुर्घटनाबाट पीडितलाई क्षतीपूर्ती वापत रु ९४ लाख ६७ हजार ५ सय राहत वितरण गरेको छ । त्यस्तै द्वन्द्वपीडित (अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता) वापत रु १५ लाख ७८ हजार र द्धन्दकालमा मृत्यु भएका र बेपत्ता भएकाको हकदारलाई १० लाख राहत वितरण गरिएको साहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
१५८ वटा मुद्दा फछ्र्यौट
जिल्ला प्रशासन कार्यालयमा सुनुवाई हुने मुद्दाहरुमा आर्थिक वर्ष २०७९÷०८० मा १५४ वटा मुद्धा फछ्र्यौट भएको छ । कार्यालयमा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा फछ्र्यौट हुन बाँकी रहेको २९ वटा र आर्थिक वर्ष २०७९÷०८० मा दर्ता भएका १५४ वटा मुद्दामध्ये १५८ वटा मुद्दा फछ्र्यौट भएको शर्माले बताउनुभयो ।
त्यस्तै सोहि अवधिमा कार्यालयमा ४४ वटा नयाँ संस्था दर्ता भएको छ भने ३ सय वटा संस्था नवीकरण भएको छ । कार्यालयमा दर्ता भएका दुईवटा संस्था खारेज गरिएको छ । यस्तै खाद्य तथा गुणस्तर सम्बन्धी अनुगमन तथा नियमन तर्फ ९९ वटा खाद्य नमुना संकलन गरिएको र एक वटा खाद्य सम्बन्धी मुद्धा दायर भएको तथा यसै अवधिमा २८ पटक बजार अनुगमन तथा नियन्त्रण सम्बन्धी कार्य भएको शर्माले बताउनुभयो ।