आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा ल्याएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यदि कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लङ्घन गरी मालसामान बिक्री गरेको पाइएमा अनुगमन निकायले सामान तत्काल जफत गर्ने कानुनी व्यवस्थासमेत रहेको उहाँले बताउनुभयो । विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य सङ्घ, पालिका, प्रशासनलगायत सरोकारवाला निकायलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि नै गराइसकेको उहाँले बताउनुभयो ।
सरकारले आव २०८०/०८१ को आर्थिक ऐन (बजेट) को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ मा साउन १ गतेपछि आयात हुने सम्पूर्ण तयारी मालवस्तु बजारमा बिक्रीका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । आयातकर्ता एवम् बजार वितरकले लेबल लगाएर पठाएको मालसामानको अभिलेख व्यवस्थित गरी राख्नुपर्ने र लेबलमा बार कोड, क्यूआर कोड, सुरक्षा स्टिकरलगायतका आफ्नो पहिचान राख्न सक्ने पनि प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । आयातकर्ता र बजार वितरकले आफ्नो लेबल लगाउँदा नेपाली अथवा अङ्ग्रेजी भाषा प्रयोग गर्नुपर्ने जनाएको छ ।