बङ्लादेशसँगको एक दिवसीय क्रिकेट शृङ्खला अफगानिस्तानले जितेको छ । हिजो भएको दोस्रो खेलमा अफगानिस्तान १ सय ४२ रनले विजयी भयो । अफगानिस्तानले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।
पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।
हिजो चटगाउँमा भएको खेलमा पाहुना टोली अफगानिस्तानले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो । उसका रहमानुल्लाह गुर्वाजले १ सय ४५ रन तथा इब्राहिम जर्दानले पनि शतकीय पारी खेले ।
बङ्लादेशका मुस्तिफिजुर रहेमान, हसन महमुद, सकिब अल हसन र मेहदी हसन मिराजले दुई/दुई विकेट लिए । जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४३ ओभर २ बलमा १ सय ८९ रनमा समेटियो । उसका मुस्फिकुर रहिमले सर्वाधिक ६९ रन बनाए ।
अफगानिस्तानका फजल फारुकी र मुजिबउर रहेमानले तीन/तीन विकेट तथा रासिद खानले दुई विकेट लिए । यी दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि मङ्गलवार हुनेछ । त्यसपछि दुई खेलको टी–२० शृङ्खला शुक्रवार र आइतवार हुनेछ ।