नेपालमा जैविक प्रतिरोध (एन्टिमाइक्रोबियल) औषधि खानेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाहविना नै एन्टिमाइक्रोबियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको हाे । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हिजाे सार्वजनिक गरेको ‘नेपालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था’बारे गरिएको अध्ययनअनुसार नेपालमा ७० प्रतिशत मानिसले कडा खालको एन्टिमाइक्रोबियल औषधि खाने गरेको पाइएको अध्ययनमा संलग्न तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का माइक्रोबायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा मेघराज बन्जाराले जानकारी दिनुभयो ।
विश्वमा एक सय ८० एन्टिमाइक्रोबियललाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । उहाँले विश्व स्वास्थ्य सङ्गठनले कम मात्रामा कडा खालका एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्ने भनेता पनि नेपालमा यसको प्रयोग बढिरहेको बताउनुभयो । उहाँले एन्टिमाइक्रोबियल औषधिको प्रयोग नेपालमा चाहिनेभन्दा बढी भइरहेको बताउनुभयो । डा बन्जाराले नचाहिने व्यक्तिले पनि प्रयोग गर्ने, चाहिनेभन्दा बढी प्रयोग भइरहेकाले एन्टिमाइक्रोबियलको दुरुपयोग भएको बताउनुभयो । उहाँका अनुसार चिकित्सकले पनि बिरामीलाई सही सिफारिस नगर्ने, नागरिकले पनि प्रिस्क्रिप्सन (बिरामी पुर्जा) विना नै एन्टिमाइक्रोबियल प्रयोग गर्ने बढेको पाइएको छ ।
‘जुन जीवाणुलाई मार्नका लागि हामीले एन्टिमाइक्रोबियल प्रयोग गर्दछौँ, तिनीहरू प्रयोग गरिररहेका एन्टिमाइक्रोबियलबाट नमर्ने अवस्था रहेको छ’, उहाँले भन्नुभयो, ‘३६ वर्षदेखि नयाँ एन्टिमाइक्रोबियल बनेको छैन । जति मात्रामा एन्टिमाइक्रोबियल चाहिने हो, त्यति नै प्रयोग गर्नुपर्दछ । त्यसो गर्दा एन्टिमाइक्रोबियललाई पछि लामोसम्म उपचारका लागि प्रयोगमा ल्याउन सकिन्छ ।’ उहाँ अनुसार सन् १९८७ मा एन्टिमाइक्रोबियल बनेपछि नयाँ आएको छैन । चिकित्सकले पनि कुन एन्टिमाइक्रोबियलले काम गर्छ वा गर्दैन भनेर परीक्षण नगरि दिने गरेको पाइएको डा बन्जाराले बताउनु भयाे । २८ प्रतिशत नागरिकले चिकित्सकको सिफारिसविना नै एन्टिबायोटिक किनेर खाने गरेको अध्ययनले देखाएको छ । २२ प्रतिशतले एन्टिमाइक्रोबियल पूरा मात्रा खाँदैनन् ।
एजिथ्रोमाइसिन २४ प्रतिशत, एमोक्सिसिलिन २० प्रतिशत, सेफिक्सिम १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४ दशमलव एक प्रतिशत र मेट्रोनिडाजोल नौ प्रतिशत चिकित्सकको सिफारिस (प्रिस्क्रिप्सन) विना नै आफूखुसी किनेर खाने गरेको पाइएको हो । यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको भन्दा बढीले एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्ने गरेको अध्ययनले देखाएको डा बन्जाराले बताउनुभयो । ‘डब्ल्यूएचओले २० देखि २६ दशमलव आठ प्रतिशत भर्ना नभएका बिरामीलाई एन्टिमाइक्रोबियल औषधि खानका लागि सिफारिस गर्नुपर्दछ भनेर उल्लेख गरिएको छ । तर नेपालमा भने ३७ दशमलव आठ प्रतिशतले यसको प्रयोग गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
सरकारले चिकित्सकले बिरामीलाई औषधिको वैज्ञानिक (जेनेरिक) नाम लेख्न भनेता पनि प्रेसक्रिप्सन (बिरामी पर्चा) मा १५ दशमलव चार प्रतिशत चिकित्सकले मात्र औषधिको जेनेरिक नाम लेख्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनमा ३२ प्रतिशत चिकित्सकलाई एन्टिमाइक्रोबियल औषधि प्रयोगशालामा परीक्षण गराएर बिरामीलाई सिफारिस गर्नुपर्दछ भन्ने थाहा छ । तर ५० प्रतिशतले मात्र परीक्षण गरेर बिरामीलाई सिफारिस गर्ने गरेको पाइएको छ ।
१८ प्रतिशत चिकित्सकसँग मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्नका लागि प्रयोगाशालाकाे पहुँच रहेको छ । नेपालमा कोलस्टिन भन्ने एन्टिमाइक्रोबियललाई प्रतिबन्ध लगाए पनि कुखुरामा प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिबन्धित याे औषधि लुकीछिपी दुई प्रतिशत कुखुरामा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । अध्ययनमा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरुको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एन्टिमाइक्रोबियल औषधिको प्रयोगलाई घटाउनुपर्ने बताउनुभयो । उहाँले अध्ययनले देखाएअनुसार सरकारले एन्टिबायोटिक कम प्रयोग गर्नतर्फ चिकित्सक र नागरिकलाई सचेत गराउने बताउनुभयो । अध्ययन सार्वजनिक कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले एन्टिमाइक्रोबियल औषधि बढी प्रयोग भइरहेको बताउनुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चिकित्सकले बिरामीलाई जे पायो त्यही औषधि लेख्न नपाउने बताउनुभयो । उहाँले अनुमतिपत्र नलिएर सञ्चालित पसलको अनुमगन गरिने बताउनुभयो ।