एसियन क्रिकेट काउन्सिल (एसिसी)ले इमर्जिङ टिम्स एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी जुलाई १३ (असार २८)गतेदेखि श्रीलंकामा हुँदै छ । नेपालले पहिलो खेल पाकिस्तान ‘ए’सँग जुलाई १४ अर्थात् असार २९ गते खेल्ने छ । प्रतियोगिता १३ जुलाइदेखि २३ जुलाइसम्म हुनेछ। नेपाल समूह ‘बी’ मा छ ।
नेपाल रहेको समूहमा यूएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै, समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । टेस्ट राष्ट्रका ५ टोलीले भने २३ वर्षमुनिको टिम पठाएका छन्। एसोसियट राष्ट्रबाट भने राष्ट्रिय टिम नै खेल्नेछ । पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ए सँग खेल्नेछ ।
नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । शीर्ष २ मा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ।फाइनल २२ जुलाईमा हुनेछ । एसीसीले एसोसियट टोलीलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स आयोजना गर्न लागेको हो । नेपालले इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा भने गरिसकेको छैन । नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो ।