मकवानपुर- ३ नम्बर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले देशको समृद्धिकालागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । २० वर्षे कृषि रणनीति योजनाका बारे मंगलबार हेटौंडामा आयोजित अन्तरकृया कार्यक्रममा उहाँले उहाँले समृद्धिकालागि कृषिमा उत्पादन बृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

३ नम्बर प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा मकवानपुरका स्थानीय तहहरुका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतकालागि अन्तरकृया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मन्त्री लामाले नेपालले कृषि क्षेत्रमा विकास गर्न नसक्नुको कारण परम्परागत कृषि प्रणली भएको भन्दै निर्वाहमुखी भन्दा व्यसायिक र सामुहिक कृषिमा जोज दिनुपर्ने बताउनुभयो । उहाँले अहिले कृषि क्षत्रेमा सबै भन्दा ठुलो समस्याका रुपमा बजारीकरण देखिएको भन्दै प्रदेश सरकारले सामुहिक खेति प्रणाली र बजारीकरणको काम सूरु गरेको समेत जानकारी दिनुभएको छ । प्रदेश सरकारले कृषिलाई नै समृद्धिको आधार मानेर काम गरिरहेको भन्दै मन्त्री लामाले प्रदेशमा कुन स्थानमा कस्तो कृषि खेती हुन्छ भनेर माटो परिक्षण गरेर माटो सुहाउँदो बाली लगाउनुपर्ने र यसकालागि प्रदेश सरकारले सहयोग गर्ने योजना रहेको समेत बताउनुभयो ।

कृषिलाई आधुनिकरण र यान्त्रीकरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री लामाले बजारीकरण र सामुहिक खेती प्रणली स्थापित गर्नुपर्ने बताउनुभएको छ । कृषि क्षेत्रको विकासकालागि मुख्इ रुपमा स्थानीय तह लाग्नु पर्नेमा मन्त्री लामाको जोड थियो । खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सिमित स्रोत र साधनहरुका कारण एकीकृत रुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन नसकेको उहाँले बताउनुभएको छ । कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन नसककेो भन्दै स्थानीय तहले योजना निर्माण गर्दै त्यस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभएको छ । बिगतमा गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामिण विद्युतिकरण, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएकोले अब तीनै तहका सरकार मिलेर यसको समाधान गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा, मन्त्रालयका सचिव योगेन्द्र कार्की, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा २० वर्षे कृषि रणनीतिका बारेमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।