कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मत सम्बन्धीको प्रस्ताव अस्वीकृत भएको छ । आफूसँग विश्वासको मत रहेको भन्दै मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतको प्रस्तावमा आज भएको प्रदेशसभाको बैठकमा मत विभाजन भएको थियो ।
मत विभाजन हुँदा विश्वास मत सम्बन्धी प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको थियो । ९३ सदस्य कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । आज भएको प्रदेशसभाको बैठकमा ८९ प्रदेशसभा सदस्यको उपस्थित थियो । मुख्यमन्त्री कार्कीको प्रस्ताव अस्वीकृत भएपछि अब नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु हुने छ । मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र राप्रपाका सांसदहरुले भोट हालेको थिए । विपक्षमा गठबन्धन दलमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका सांसदहरुले मत हाल्नुभएको थियो ।
गठबन्धन दलमा आबद्ध जनता समाजवादी पार्टीका एक जना सांसद रहेकोमा उहाँ आजको बैठकमा अनुपस्थित रहनुभयो । सो पार्टीले मत विभाजन प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको थियो । मुख्यमन्त्री कार्कीले गत पुस २५ गते मुख्यमन्त्री पदका लागि सपथ ग्रहण गर्नुभएको थियो । उहाँले १ सय ७३ दिन सरकार सञ्चालन गर्नुभयो । यसअघि सरकारमा सहभागी भएको दल नेकपा माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको थियो । अब नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि अगुवाइ गर्ने सो पार्टीका नेताहरू बताएका छन् । कोशी प्रदेशमा नेकपा एमाले ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राप्रपाको ६, एकिकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । बिहीबार बसेको प्रदेशमा बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी तथा एकिकृत समाजवादी पार्टी संसदीय दलका नेताहरूले विश्वासको पक्षमा मत नदिने जनाउनुभएको थियो ।