मकवानपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मकवानपुरका दुईवटा मात्र स्थानीय तहले मात्र आर्थिक वर्ष २०८०÷८१ को बजेट सभामा पेस गरेका छन् । मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित स्थानीय तहले प्रविष्टि गरेको विवरणको आधारमा आज बिहानसम्म मकवानपुरको ईन्द्रसरोवर र राक्सिराङ गाउँपालिकाले मात्र बजेट पेश गरेका छन् ।
स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो सभामा आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही स्थानीय तहले तोकिएको मितिमा सभामा बजेट पेस गर्न सकेका छैनन् । जिल्लाका १० मध्ये बागमती गाँपालिका बाहेक ९ वटा स्थानीय तहले समयमै नीति कार्यक्रम र बजेट ल्याए पनि मन्त्रालयकाे पाेर्टलमा प्रविष्ट नगर्दा दुइ वटाले मात्र बजेट पेस गरेकाे देखिएकाे हाे । मन्त्रालयको विवरण अनुसार कुल १० स्थानीय तहमध्ये आज बिहान ८ बजेसम्म मन्त्रालयको पोर्टलमा २ वटाले मात्र बजेट प्रविष्ट गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । उनीहरुले ल्याएको बजेट मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ । तर स्थानीय तहले बजेट ल्याएर पनि मन्त्रालयको पोर्टलमा प्रविष्ट गरेका छैनन् । सभामा पेस भएको बजेटलाई मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न मन्त्रालयले परिपत्र समेत गरेको छ ।
असार १० गतेभित्र सभामा बजेट पेस गर्न नसक्ने स्थानीय तहले कार्यसम्पादनमा आधारित सूचकबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन सूचकमा आधारित अनुदान घट्नेछ । स्थानीय तहले पाउने अनुदानका लागि आयोगले १७ वटा सूचक बनाएको छ । तीमध्ये एउटा सूचक असार १० गतेभित्र सभामा बजेट पेस गर्नुपर्ने उल्लेख छ । गएको वर्ष भने जिल्लाका सबै स्थानीय तहले समयमा बजेट ल्याएका थिए ।