हेटौंडा– शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई नेपाल)ले सिन्धुपाल्चोकमा हर्क तामाङको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरेको छ । सिन्धुपाल्चोकमा शिक्षा तथा बालबालिकाका लागि क्रियाशील संघ–संस्थाहरुको भर्चुअल भेला जिल्ला भेलाले ९ सदस्यीय समिति सर्वसम्मत गठन गरेको हो ।
संस्था नै सदस्य रहने प्रावधानअनुसार संयोजक तामाङ ग्रामीण महिला सिर्जनशील परिवार(जिएमएसपी)का प्रतिनिधी हुन् । समितिको सह–संयोजकमा पेम्बातेम्बा लामा (केटाकेटी संस्था), सचिवमा सरु गिरी (हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप–हेल्प), कोषाध्यक्षमा कृष्णप्रसाद पराजुली (टुकी संघ सुनकोशी) र सदस्यहरुमा गोविन्द सापकोटा (सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च–सिडिइसिएफ), डोल्मा तामाङ (महिला आत्मनिर्भरता केन्द्र–माङ्क, रोशनी अधिकारी लामा (हेलम्बु महिला सञ्जाल सशक्तिकरण), छिरिङ लामा (नेपाल शिक्षा अभियान संस्था–एनइआइओ) र गणेश सिग्देल (विकासका लागि हामी–डब्लुएफडी) रहेका छन् ।
साधारण भेलाले छिरिङ लामा र रोशनी अधिकारी लामालाई केन्द्रीय प्रतिनिधीको रुपमा चयन पनि गरेको छ । भेलाको उदघाटन सत्रलाई सम्बोधन गर्दै एनसिई नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराम सुवेदीले संवैधानिक रुपमै प्राप्त शिक्षा अधिकार व्यवहारतः कार्यान्वयन गर्नका निम्ति एनसिई नेपालको सञ्जाल देशव्यापी बनाउने र सार्वजनिक शिक्षाको पक्षमा अभियानले सार्थकता पाउन सक्ने बताए । ‘सिन्धुपाल्चोकका शिक्षामा काम गरिरहेका संस्थाबिच समन्वय र सञ्जालीकरण गर्ने काम समन्वय समितिमार्फत् सम्भव बनाउनुपर्छ’ उनले भने ।
एनसिई नेपालका महासचिव लालबहादुर ओलीले शिक्षा विकासमा लामो समयदेखि अनुभव सम्हालेका र उल्लेखनीय योगदान दिइरहेका संस्थाहरुको उपस्थितिले एनसिईले लिएको अभियान सफल बन्नेमा विश्वास व्यक्त गरे । समाज कल्याण परिषद्की सदस्य एवं ग्रामीण महिला सिर्जनशील परिवारकी कार्यकारी निर्देशक नानीमाया थापाले एनसिई नेपालले स्थापनाकालदेखि नै थालेको अभियानप्रति आफू जानकार रहेको भन्दै यसको सदस्यका रुपमा संस्थाहरु आबद्ध हुन पाउनु खुशीको विषय भएको बताईन् ।
एनसिई वागमति प्रदेश संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उनले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा संवैधानिक रुपमै उल्लेख भएकाले यसलाई यथार्थमा परिणत गर्न अभियानकर्मी एकजुट हुनुपर्नेमा जोड दिए । देशभर साँढे तीन सयभन्दा बढी संघ–संस्थाको सञ्जालका रुपमा क्रियाशील एनसिई नेपाल मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै प्रदेश र जिल्ला तहमा बिस्तार हुँदै आएको छ । सात वटै प्रदेश समन्वय समिति रहेको एनसिई नेपालको अहिलेसम्म २८ जिल्लामा समन्वय समिति गठन भईसकेको एनसिई केन्द्रीय सचिव सुदर्शन सिग्देलले बताए ।