मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलीदेखि हुने प्रथम बागमती प्रदेश युवा सम्मेलनको तयारी पुरा भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले प्रथम प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।
भोली र पर्सी दुईदिन सञ्चालन हुने सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १५० युवाको सहभागिता रहने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना, अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ, संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका छन् । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएको उहाँले बताउनुभयो ।
“हामीले सहभागीको छनोटका क्रममा महिला, जनजाति, अल्पसंख्यक, सिमान्तकृत समूह, विद्यार्थी युवाको सहभागितालाई प्राथमिकतामा राखेर छनोट गरेका छौं”, कार्यकारी उपाध्यक्ष चौलागाईले भन्नुभयो, “युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको हो । प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” उहाँले भन्नुभयो ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिकोरुपमा सहभागी गराएइएको उहाँले बताउनुभएको छ । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्नेछन् । दुईदिन समम हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोँच, सूचना प्रविधि, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिता, उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलता र सामाजिक सञ्जालका विषय युवामाझ प्रस्तुती र अन्तरक्रिया हुनेछ । सम्मेलन आयोजनाका लागि करीब २० लाख रुपैयाँ लागत लाग्ने कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।