पाँचथरमा असार २ गतेदेखि आएको वर्षाका कारण बाढी र पहिरोमा परी विस्थापित हुनेको सङ्ख्या ५ सय ७४ पुगेको छ । हालसम्म विस्थापितको सङ्ख्या ५ सय ७४ पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्लाको फिदिम नगरपालिकाको याङवरक , हिलिहाङ र फालेलुङ गाउँपालिकाका १४ घरका ५९ जना पूर्णरुपमा विस्थापित भएका छन् भने ८६ घरका ४ सय २५ जना उच्च जोखिममा र १९ घरका ९० जना आंशिक क्षति भई हालसम्म ५ सय ७४ जना विस्थापित भएका हुन् ।
१ सय १९ घर बाट नागरिक विस्थापित भएको प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ । यस्तै, असार ३ गते मध्यरातमा आएको बाढीका कारण जिल्लामा हालसम्म तीन जनाको ज्यान गुमेको छ भने तीन जना बेपत्ता छन् । पहिरोका कारण जिल्लाका विभिन्न १५ वटा पुलमा क्षति पुग्नका साथै ५ वटा जल विद्युत् कम्पनीमा बिजुली उत्पादन ठप्प भएको छ । बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा समेत कठिनाइ भइरहेको छ । सडक डिभिजन कार्यालय इलामले मंगलबारदेखि हेवाखोला दोभानमा बेलिब्रिज बनाउन थालेको छ ।