मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा देखा परेको समस्याका बिषयमा सर्वदलीय÷सर्वपक्षीय बैठकले ध्यानाकर्षण जनाएको छ । प्रदेश सरकारले बजेट कटौती गरेका कारण कर्मचारी कटौती भई सेवा नै प्रभावित हुने भएपछि बिहीबार हेटौंडामा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले ध्यानाकर्षण जनाएको हो ।
हेटौंडा उपमहानगरपालिकामा बिहीबार बसेको बैठकले अस्पतालमा अहिले भइरहेको उपचार सेवा समेत प्रभावित हुनेगरी स्वास्थ्यकर्मी लगायतका कर्मचारी कटौती नगर्न आग्रह गरेको छ । उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको अध्यक्षतामा बसेको बैठकले अस्पतालको स्तरबृद्धि हुँदै गएको र बिरामीको चाप समेत बढ्दो क्रममा रहेकाले उपचार सेवा नै प्रभावित हुने भन्दै कर्मचारी कटौती नगर्न आग्रह गर्नुका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । अस्पतालको सेवामा स्तरीकरण भईरहेको अबस्थामा यस्तो निर्णय हुनु गलत रहेको बैठकमा उपस्थित सरोकारवालाहरुले बताएका छन् ।
प्रदेश सरकारले प्रतिष्ठानलाई दिईदै आएको बजेट कटौती गरेकाले २१४ जना कर्मचारी निस्कासन गर्नुपर्ने अवस्था सृजना भएको छ । बजेट कटौती गरेको कारण प्रतिष्ठानको कार्यकारी परिषद्को निर्णयको आधारमा असार ३ गते कर्मचारी कटौती गर्ने सूचना जारी गरेको थियो । प्रतिष्ठानमा कर्मचारीका लागि तलब दिने बजेट नै कटौती भएपछी प्रतिष्ठानले सूचना जारी गरेको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पताल अहिले सम्म ५० बेढमा स्वीकृत अस्पताल हो । तर, प्रतिष्ठान र अस्पताल विकास समितिले बेडहरु थपेर करार र ज्यालादारीमा स्वीपर देखि डाक्टर सम्मलाई नियुक्ती गरेर सेवा विस्तार गरेको छ । पछील्ला वर्षहरुमा हेटौंडा अस्पतालको वहिरंगसँगै अन्तरंग विभागमा पनि बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालको मेडिकल वार्ड, सर्जरी वार्ड र क्यबिनमा बिरामी उपचारका लागि आउने क्रम बढ्दै गएको छ । मेडिकल वार्डमा धेरैजसो ज्वरो, टिबी, एलर्जी, क्यान्सर, रक्तअल्पता, दम, निमोनिया, मृगौला आदिका बिरामी आउने गरेका छन् । अस्पतालको सेवाबाट मकवानपुरका मत्र नभई छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र सिन्धुलीका नागरिक समेत लाभान्वित हुँदै आएका छन् ।
बैठकमा बागमती प्रदेश प्रदेशसभा सदस्य तथा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, संबिधानसभाका सदस्य तथा माओबादीका नेता प्रलाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, उपमेयर राजेश बानीया, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका सचिब नविन सिग्देललगायत विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।