मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा बिहीबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तसञ्चार केन्द्रमै भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

फाउण्डेशनले जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा मनाउँदै छ । जस अन्तरगत पहिलो दिन आज रक्तदान कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले टिकटक प्रतियोगिता, रक्तदान कार्यक्रम, कवि गोष्ठी, हाजिरिजवाफ, श्रदाञ्जली सभा तथा पुरस्कार वितरणलगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो भने निधन २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भएको थियो ।