साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ । भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे ।
पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे । कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र माेहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गाेल फर्काए ।
साविक उपविजेता नेपालले अब आउँदाे शनिवार असार ९ गते घरेलु टाेली भारतसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
प्रतियाेगिताकाे १४ औँ संस्करणमा लेबनान र कुवेतले आमन्त्रित टाेलीकाे रूपमा खेल्न लागेका हुन् । सार्कमा रहेकाे श्रीलङ्का भने फिफाको प्रतिबन्धका कारण यस पटक प्रतियोगितामा सहभागी हुन पाएकाे छैन । दुवै समूहका शीर्ष दुई टाेली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदाे असार १९ गते हुनेछ ।