प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल आज पनि जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकहरू माथि समूहगत छलफल भइरहेको छ ।
बैठकको कार्यसूची रहेको ४ वटा मन्त्रालयको विभिन्न शीर्षकहरू माथिको समूहकृत छलफलमा ८ जना सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्नु हुनेछ । यसअघि शुन्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले चितवन राष्ट्रिय निकुञ्ज छेउका बस्ती जङ्गली जनावरको आक्रमण, नागरिकता समस्या, बाढी पहिरोबाट पीडितको उद्धार र राहत लगायतका माग राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठकले हिजो सवारी दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।