मकवानपुर । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) मकवानपुरको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सोमबार सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा संस्थाले सञ्चालन गरेका कार्यक्रम र आगामी योजनाका बारेमा संस्थाका प्रतिनिधि तजबिज गर्तौलाले जानकारी गराउनु भएको थियो । उहाँले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले जोखिममा परेका वा पर्न सक्ने बालिकाहरुलाई शिक्षा र स्वास्थ्यको संरक्षण तथा सम्बर्धन गर्न सहयोग गर्ने, लैङ्गिक हिंसा तथा विभेदको अन्त्य गर्ने र समुदायस्तरमा अभियान, पैरवि तथा क्षमता अभिबृद्घि गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
अमेरिकन हिमालयन फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालित संस्थाले मकवानपुरलगायत १८ जिल्लाका २२ हजार विद्यार्थीलाई उक्त सहयोग प्रदान गर्दै आएको तथा मकवानपुरमा २०५९ सालमा ४ विद्यालयका ६० विद्यार्थीलाई सहयोग गरेर सुरु भएको कार्यक्रमबाट हाल ६ वटा पालिकाका ६४ विद्यालयका १८९२ विद्यार्थी लाभान्वित भएको जानकारी दिनुभयो । कार्यक्रमले बालबिवाह तथा लैङ्घिक हिंसा, बालश्रम शोषण, चेलीबेटी बेचबिखन र असुरक्षित आप्रवासन जस्ता मुख्य विषयहरु समेटेर कार्यक्रम कार्यान्वयन गर्दै आएको बताईएको छ ।
बैठकमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोकतान, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला समन्वय अधिकारी बासुदेव खतिवडा, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दिनानाथ गौतम, प्रहरी उपरिक्षक बामदेव गौतम, मनहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु, संस्थाले कार्यक्रम सञ्चालन गरेको हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कर्मचारीहरु, विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, संस्थाबाट लाभान्वितहरुलगायत सरोकारवालाको उपस्थिती थियो ।