मकवानपुर । हेटौँडामा जारी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै नेपाल आर्मी र गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।
पहिलो सेमीफाइनल खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा सहजै पराजित गर्दै फाईलन प्रवेश गर्यो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो सेट नेपाल पुलिसले जितेपछि प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा विपरित तेस्रो र चौथो सेट आर्मीले सहजै आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले तेस्रो सेट २५–१३ ले र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । म्यान अफ द म्याच आर्मीका सनोज चौधरी घोषित भए ।
यस्तै दोस्रो सेमिफाईलनमा खेलमा एपीएफले गण्डकीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै आर्मीसंगको भेट पक्का गर्यो । पहिलो दुई सेट १८–२५ र १५–२५ ले पराजित भएको एपीएफले बाँकी ३ सेट लगातार २५–१९, २५–२३ र १५–१० ले जित्दै फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच एपीएफका सुवास कुँवर घोषित भए ।
स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।