राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज बिहान उहाँले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गएको जेठ १२ गते सरकारले राष्ट्रपति पौडेललाई प्रमाणीकरणका लागि अनुरोध गरेको थियो । अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले उज्यालोलाई जानकारी दिनुभयो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोक्नुभएको थियो । त्यही विधेयक अहिले प्रमाणीकरण भएको हो । यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिनुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै फेरि दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।
संविधानअनुसार राष्ट्रपति भण्डारीले विधेयक १५ दिन अर्थात असोज ५ गतेभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि प्रमाणीकरण भएको थिएन । राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हो हुने भन्ने प्रष्ट नभएको बेला गएको १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको हो । विधेयकमा २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।
कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा धेरैले नागरिकता लिनबाट वञ्चित भएकोतथ्याङ्क छ । यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नाबालकलाई निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि छ । यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा राखिएको छ ।