मकवानपुर– मकवानपुरमा गुडीरहेकाे स्कोर्पियो पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत देउराली–कुलेखानी सडकखण्डको बतासे भन्ने स्थानमा पहिरोले स्कोर्पियो पुरिदाँ स्कोर्पियोका चालक बाराको पर्सौनी गाउँपालिका–४ का ४० वर्षीय युनिष आलमको मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कोर्पियो पुरिएर युनिषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । पहिरोसँगै आएको ढुंगाले थिचिएर युनिषको मृत्यु भएको हो ।
त्यस्तै काठमाडौंबाट हेटौंडातर्फ नै आउँदै गरेको बा ९७ प ४८५१ नम्बरको मोटरसाइकल पनि पहिरोले पुरिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाईते हुनेमा काठमाडौंको मण्डिखाटार नगरपालिका–२७ का ४७ वर्षीय राज आचार्य र ५३ वर्षीय सञ्जीव अधिकारी रहेका छन । उनिहरुको खुट्टा भाँचिएको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभएको छ । अहिले पहिरो पन्छाएर बाटो सुचारु गर्ने कार्य भइरहेको छ ।