आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाईंदैछ । हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । दिवसका अवसरमा धूम्रपान तथा सुर्तीजन्य पदार्थले ब्यक्ति, परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराउने गरिन्छ ।
विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । सुर्तीजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने डाक्टरले बताएका छन् ।
क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूम्रपान तथा सुर्तीजन्य बस्तु नखान पनि डाक्टरको सुझाव छ । धूम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभइ कम्तीमा पनि शरीरका अरु १२ अंगको क्यान्सर गराउने जोखिम हुन्छ ।
नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । सुर्तीजन्य पदार्थ तथा धूम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्छ ।
गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मने तथा समय अगाडि नै बच्चा जन्मिने, गर्भ तुहिनेलगायत हुन सक्छ । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य देश बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो ।