नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र करण केसी छन् । त्यसैगरी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल रहेका छन् । नेपाली टोलीले आजदेखि तयारी थाल्नेछ ।
जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोलीको सहभागिता रहनेछ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । विश्व कप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्व कप छनोटमा स्थान पक्का गरेका छन् ।
१३ देश सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बङ्लादेश, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड र अफगानिस्तान सिधा विश्व कपका लागि छनोट भइसकेका छन् ।
विश्व कप छनोटमा लिग–२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । त्यस्तै, विश्व कप प्लेअफ क्वालिफायरबाट अमेरिका र यूएई शीर्ष दुईमा रहँदै विश्व कप छनोटमा पुगेका छन् ।
