मकवानपुर – नेपाल राष्ट्रिय उद्यान महासंघको उपाध्यक्षमा मकवानपुरका रघुनाथ खुलाल चयन हुनु भएको छ । यहि जेठ ६ र ७ गते बुटवलमा आयोजित प्रथम राष्ट्रिय उद्यान सम्मेलनबाट जिल्ला समन्वय समिति मकवानपुरका पूर्व प्रमुखसमेत रहनु भएका खुलाल शहिद स्मारक पार्क हेटौंडा मकवानपुरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन हुनुभएको हो ।
महासंघको अध्यक्षमा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका खेम प्रसाद लुईटेल चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा देव स्मृति पार्क देवदह रुपन्देहीका मिना श्रेष्ठ, महासचिवमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमा रुपन्देहीका बेल प्रसाद शर्मा, सचिवमा ताल तलैया विकास समिति तथा संरक्षण समितिका लक्ष्मी प्रसाद खनाल र कोषध्यक्षमा श्रीनगर पर्या पर्यटन तानसेन पाल्पाका सुनिता शर्मा चयन हुनु भएको छ ।

त्यस्तै महासंघको सदस्यहरुमा भीमदत्त पार्क कञ्चनपुरका हेम बहादुर बस्नेत, पान्डवेश्वर महादेवधाम दाङका विष्णुराम आचार्य, सुखान सहिद पार्क झापाका टंक बराल, प्रादेशीक सहिद पार्क सुर्खेतका अमर बहादुर कार्की, देवदत्त पार्क रुरुक्षेत्र गुल्मीका हिमाल कुमार श्रेष्ठ, तारा सुब्बा स्मृति पार्क धरानका दिल कुमार गिरी, उजिरसिंह पार्क पाल्काका हरिकला कुमाल, कपिलधाम पार्क कपिलबस्तुका शान्ता खनाल र घोडाघोडी ताल कैलालीका हेमबहादुर बम चयन हुनु भएको उपाध्यक्ष खुलालले बताउनुभयो ।
यस्तै महासंघको सल्लाहाकारमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनु भएका हेटौंडाका डोरमणि पौडेल, सिराहाका कासीराज दाहाल, रुपन्देहीका माधव प्रसाद नेपाल र पाल्पाका दल बहादुर गुरुङ चयन हुनु भएको उहाँले बताउनुभयो ।
देशभरका पार्क (उद्यान) उद्यानहरूको व्यवस्थापन र सञ्चालनमा देखापरेका समस्याहरूको समाधान गर्दै संस्थागत विकास गरी एकताबद्घ पहल गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रथम राष्ट्रिय उद्यान सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हाे । स्वस्थ जीवनशैली, वातावरण, कला, संस्कृति र सम्पदाको संरक्षण, जलवायु परिवर्तनका कारण भइरहेको जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न, हरित न्यायको सिद्धान्तलाई आत्मसात् गरी सहरलाई सुन्दरी गर्न उद्यानहरूको संरक्षण, संवर्द्धन र विकास गर्न आवश्यक रहेको सम्मेलनले घोषणा गरेको छ ।
देशभरि रहेका उद्यानहरूको संरक्षण, संवर्द्घन र विकासमा समुदायले गरेको योगदानको कदर गर्दै राज्यले अभिभावकत्व लिने र समुदायले सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय नीति र कानून निर्माण गरी कार्यान्वयन गर्न सम्मेलनले माग गरेको छ ।
उद्यानहरूको दर्ता, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत राष्ट्रिय नीति तथा कानून यथाशीघ्र निर्माण गर्ने र सबै प्रकारका वनअन्तर्गत रहेका उद्यानहरूलाई दीर्घकालीन उपयोग, स्वामित्व हस्तान्तरणको व्यवस्था मिलाउन सम्मेलनले माग गरेको छ ।
सम्मेलनमा जारी घोषणापत्रमा सबै तहका सरकार मातहत रहने पर्यटन बोर्ड/परिषद्स/मितिहरूमा नेपाल उद्यान महासङ्घको प्रतिनिधित्व रहने व्यवस्था गर्न र उद्यानहरूसँग लिइँदै आएको बहाल कर, स्थानीय कर र पर्यटन करलाई खारेज गरी एकद्वार प्रणालीबाट एकल कर लिने व्यवस्था गर्न माग गरिएको छ ।
राष्ट्रिय उद्यान, प्रादेशिक उद्यान, स्थानीय उद्यानका सम्बन्धमा वर्गीकरणका स्पष्ट आधार र स्वामित्वलगायत सञ्चालन र व्यवस्थापनका निम्ति एकीकृत नीति र कानून यथाशीघ्र तर्जुमा गरी लागू हुनुपर्ने र नेपालमा सञ्चालित उद्यानहरूमा प्राविधिकरूपमा धेरै कमजोरी रहेको विषयलाई आत्मसात् गर्दै आगामी दिनमा प्राविधिकरूपले पनि सुदृढ र व्यवस्थित गर्ने सम्मेलनमार्फत प्रतिबद्घता व्यक्त गरिएको छ ।