मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको समृद्धिकालागि उद्यमशीलताको विकास हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको “एक दिवसीय उद्यमशीलता तथा नृत्य प्रतियोगिताको उद्घाटन गर्नु हुँदै पौडेलले दिगो आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास जरुरी रहेको बताउनुभयो ।

हेटौंडा ४ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास नगर समन्वय समितिको व्यवस्थापनमा भएको कार्यक्रममा उहाँले सडक निर्माणलाई मात्रै बिकास मान्ने कुरालाई छोडेर सबै क्षेत्रको विकासमा जोड दिन आग्रह गर्नुभयो । स्थानीय सरकारले विकासका हरेक कामसंगै अतिरिक्त क्षेत्रमा पनि जोड दिनुपर्ने उहाँको भनाई थियो । उद्यमशिलता प्रवद्र्धन कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणलाई सहजता हुने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले उद्यमशिलता संगै उद्योगी व्यवसायीहरूको प्रवद्र्धनमा लाग्नु पर्ने धारणा राख्नुभयो । हाम्रो पुँजीबाट उत्पादन भएका वस्तुको उपयोग र बजारीकरण तथा प्रबद्र्धन र विस्तार गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले स्थानीय रूपमा उत्पादित वस्तुहरूको प्रवद्र्धनका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले उपमहानगरपालिकाले स्थानीय उत्पादनको बिक्रि र बजारीकरणका लागि आगामी बजेटमा विशेष कार्यक्रम ल्याउने समेत बताउनुभयो । यस्तै ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले आफ्नो वडामा बिकास निर्माणका काम संगै हरेक क्षेत्रको बिकासमा जोड दिने बताउनुभयो ।

प्रदर्शनीमा हेटौंडाका १९ वटा वडाका स्थानीय उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु प्रदर्शनका लागि राखिएको थियो । प्रदर्शनीमा नेपाली पोशाकदेखि खाना, गहना, मन्दिर, मह, घिउ, कुशन, डललगायतका स्थानीय वस्तुहरु प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीको ३६५ टोल विकास संस्थाका प्रतिनिधिलगायत, शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरु लगायत करिब ४ हजार बढीले अवलोकन गरेका छन् ।
कार्यक्रममा उद्यमशिलता तर्फ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ प्रथम, वडा नम्बर–४ द्वितीय, वडा नम्बर ६ तृतीय, वडा नम्बर २ र १९ ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन । पुरस्कृत हुने वडाहरूलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै नृत्य तर्फ हेटौंड वडा नम्बर १८ प्रथम, वडा नम्बर १० द्वितीय, वडा नम्बर २ तृतीय, वडा नम्बर ११ र ५ ले सान्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कृत हुने वडाका समुहलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३५ हजार, २० हजार र १०/१० हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा गीत संगीतको माध्यामबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्नुहुने जनगायक एवम् संगितकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार र सम्मान पत्रसहित सम्मानित गरिएको थियो । लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुती रहेको थियो ।