नेकपा एमालेका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ । बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्ताे बताउनुभएकाे हाे । उहाँले याे प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो ।
उहाँले आरोपी पार्टीका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो । निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने सचेतक बर्ताैलाकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो भएको छ । यस्तो दुष्कर्म गर्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गरिनुपर्छ । प्रचलित कानुनले दिएको सजाय सबैले भोग्नुपर्छ । कानुनविरुद्धको गतिविधि गर्नेहरू कुनै पनि पार्टीको हुँदैनन् । कुनै पनि पार्टीले संरक्षण गर्ने कुरा हुँदै हुँदैन । अपराधीको कुनै जात, धर्म, लिङ्ग, पार्टी हुँदैन । घटनामा जोडिएका जो कोहीले उन्मुक्ति पाउनु हुँदैन । उन्मुक्ति पाउने आशाबाट सत्ताको रापताप पनि जोडिनु हुँदैन ।’ सचेतक बर्ताैलाले यस प्रकरणपछि यति, वाइडबडी, ओम्नी, ललिता निवास र क्यान्टनमेन्ट घोटालालगायतको विषयमा पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।